धरोहरका रुपमा उठ्दैछ धरहरा

काठमाण्डौ – त्रिपुरेश्वरबाट रत्नपार्कतिर हिँड्दै गरेका सर्लाही हरिवनका शत्रुधन दास सुन्धारा पुगेपछि रोकिनुभयो । उहाँलाई एकपटक भित्र गएर हेर्न मन लाग्यो । तर काम भैरहेको ठाउँमा अनुमतिबिना जान नपाएपछि उहाँले बाहिरबाटै हेरेर चित्त बुझाउनुभयो ।

उहाँजस्तै सुन्धारा पुग्ने जोकोही पनि बन्दै गरेको धरहरा हेर्छन् । अनि गेटमा बसेका कामदारलाई सोध्छन् – कस्तो बन्दैछ धरहरा ? कति भयो काम ?

‘भित्र जान अनुमति चाहिने भएकाले बाहिरबाट जति देखिन्छ हेरें’ उहाँले भन्नुभयो, ‘काम भैरहेको देखेपछि खुशी लाग्यो, सुन्धारा परिसर त एक वर्षमै फेरिएछ । अबको एक दुई वर्षमा त धरहरा बन्ला नि ।’
धरहरा भुईँचालोले भत्केपछि ठुटो मात्रै बाँकी थियो । अहिले यही ठुटो संरक्षण गरेर छेवैमा नयाँ धरहरा ठडिंंदैछ । धरहरा बनाउने काम सुरु भएको एक वर्ष दुई महिना बितिसकेको छ । एक वर्ष अघिसम्म काम सुरु हुन नसकेको धरहराले अहिले भने आकार लिन थालेको छ ।

बन्यो तीन तला : एक वर्षमा ३२ प्रतिशत काम

पुरानो धरहरा रहेको काठमाण्डौको सुन्धारा परिसर भूकम्पअघि जस्तो अहिले छैन । धरहरा बन्ने क्षेत्रभरीका टेलिकमका तार व्यवस्थापन भैसकेका छन् । टक्सार विभाग र गोश्वारा हुलाकका भवन समेत भत्काउने काम भैरहेको छ ।

पोहोर असोजमा काम सुरु भएदेखि अहिलेसम्म धरहराको झण्डै ३२ प्रतिशत काम भैसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ एवं धरहरा पुनर्निर्माणको काम हेर्दै आएका राजुमान मानन्धरले बताउनुभयो । २२ तला बन्नुपर्ने धरहराको तीन तलाको काम सकिएको छ । जमिनमुनीको भाग बेसमेन्ट २ तलाबाहेक धरहराको तीन तला सकिएको हो ।
‘धरहराको टावर बनाउने काम अहिले धमाधम भैरहेको छ’ मानन्धरले भन्नुभयो, ‘पुरानो धरहरा ९ तलाको थियो, नयाँ धरहरा पनि झट्ट हेर्दा ९ तला नै देखिन्छ । तर बेसमेन्ट सहित बाहिरबाट ११ तला र भित्र २२ तलाको धरहरा बन्नेछ ।’

भूकम्पपछि धरहराको अवस्था

धरहरा बनाउने चर्चामै भूकम्पपछिका तीन वर्ष ८ महिना बिते । पहिलोपटक सरकारको नेतृत्व गरेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म बनाउँछु मेरो धरहरा अभियान’ सुरु गरे पनि अभियान भने सफल हुन सकेन । २०७२ सालमा भूकम्पले ढलेको धरहरा बनाउन १० महिनापछि अभियान सुरु गरिएको थियो । Source unn.com.np

Leave A Reply

Your email address will not be published.