महानगरका कर्मचारी १५ हजार घुससहित पक्राउ
वीरगन्ज : सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा वीरगन्ज महानगरपालिका कार्यालयका एक कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट आएको टोलीले वीरगन्ज महानगरपालिका कार्यालयको लेखा शाखामा कार्यारत कम्प्युटर अपरेटर राकेशकुमार जैसवाललाई १५ हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।
लेखा शाखाका प्रमुख रुपनारायण राउतको कार्यकक्षमा सोमबार दिउँसो सेवाग्राहीसँग घुस रकम लिँदै गरेको बेलामा जयसवाललाई अख्तियारको टोलीले रंगेहात पक्रेको हो । वीरगन्ज महानगरपालिका ३० मा उपभोक्ता समितिमार्फत निर्माण भएको ढलान सडकको भुक्तानीका लागि जयसवालले १५ हजार रुपैयाँ घुस मागेको र त्यहि रकम लिँदै गरेको अवस्थामा उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।
घुस रकमसहित पक्राउ परेका जयसवाललाई अख्तियारको टोलीले हेटौडा लिएर गएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले जानकारी दिए ।
अन्नपूर्ण पोस्टबाट